हेटौँडाको लक्ष्मीनारायण मन्दिरमा निःशुल्क सिसमहलले तान्दै धार्मिक पर्यटक
हेटौँडा,साउन १८ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा रहेका आकर्षक सिसमहल धार्मिक पर्यटकको रोजाइमा पर्न थालेका छन्। लक्ष्मी नारायणको दर्शनसँगै मन्दिर परिसरमा रहेका राधाकृष्ण र सीताराम सिसमहल हेर्न पनि दर्शनार्थी पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले बताउनुभयो। अन्य स्थानका सिसमहल अवलोकनका लागि शुल्क लाग्ने भए पनि यहाँ दुवै सिसमहल निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।
राधाकृष्ण सिसमहल तत्कालीन जिल्ला विकास समितिको रु आठ लाख सहयोगमा निर्माण गरिएको हो भने सीताराम सिसमहल भक्तजनको आर्थिक सहयोगमा रु २० लाख लागतमा निर्माण गरिएको हो।
२०३२ सालमा अनन्त श्री विभूषित पराङ्कुशाचार्यले स्थापना गर्नुभएको मन्दिरले धार्मिक तथा आध्यात्मिक गतिविधिसँगै सामाजिक सेवामा समेत योगदान गर्दै आएको छ। संस्थाको विधिवत् दर्ता भने २०६१ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको हो।
करिब दुई कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा दक्षिण भारतको तिरुपति बालाजी मन्दिरको शैलीसँग मिल्दोजुल्दो संरचना निर्माण गरिएको छ। सोहीअनुसार पूजा तथा धार्मिक विधि सञ्चालन हुँदै आएको अध्यक्ष वाग्लेले बताउनुभयो।
तीर्थयात्रीका लागि छ वटा कोठासहितको आवासीय व्यवस्था गरिएको छ। एकपटकमा १० देखि १२ जनासम्मलाई बस्न सक्ने व्यवस्था रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मुगु, हुम्लालगायत जिल्लाका पाँच जना वटुकलाई आवासीय सुविधासहित वैदिक शिक्षा तथा विद्यालय तहको अध्ययनको व्यवस्था पनि मन्दिरले गर्दै आएको छ।
मन्दिर परिसरमा २०५८ सालमा लक्ष्मीनारायण व्यास पीठ स्थापना गरिएको थियो। त्यहाँ दैनिक वेद, भगवद्गीता तथा श्रीमद्भागवतको पाठपारायण हुँदै आएको छ। त्यस्तै, कस्तुरी योग साधना केन्द्रमार्फत नियमित योगाभ्याससमेत सञ्चालन भइरहेको छ।हेटौँडा क्षेत्रका करिब ४० जना नियमित योग साधनामा सहभागी हुँदै आएका छन्।
मन्दिरमा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म नियमित पूजा हुने पुजारी भक्ति दाहालले बताउनुभयो। महत्वपूर्ण तिथि तथा पर्वमा भने भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको उहाँले जानकारी दिनुभयो।
मन्दिर परिसरमै मार्बलमा श्रीमद्भगवद्गीताका १८ अध्याय लेखिएका छन्। करिब छ वर्षअघि रु तीन लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त संरचनाका लागि १८ जनाले एक–एक अध्यायका लागि आर्थिक सहयोग गरेका थिए।
मन्दिरले हरेक वर्ष पुस महिनामा महालक्ष्मी उत्सव आयोजना गर्दै आएको छ। रामनवमी, कृष्ण जन्माष्टमी, विजयादशमी तथा झुलन महोत्सवमा पनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन्।धार्मिक गतिविधिसँगै सामाजिक सेवाको केन्द्रका रूपमा मन्दिरलाई थप विकास गर्ने योजना रहेको समितिका सदस्य गोमादेवी वाग्लेले बताउनुभयो।

