आजदेखि इन्द्रजात्रा विधिवत् सुरु
काठमाडौँ,असोज ७ । काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्रा (येँया) आज बुधबारदेखि विधिवत् रूपमा सुरु भएको छ। बुधबार बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको हो।
आठ दिनसम्म सञ्चालन हुने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा रहेको छ। पहिलो दिनलाई विशेषगरी ‘उपाकु’ भनिन्छ।
इन्द्रजात्राको अवसरमा आज साँझ नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बत्ती (पाल्चाः) बालेर नगर परिक्रमा गर्ने परम्परा पनि छ। यस क्रममा मृतकको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिन्छ।
इन्द्रजात्राको अन्तिम दिन नानीचा याःका अवसरमा इन्द्रध्वजा (यःसिं) ढालेपछि यस वर्षको इन्द्रजात्रा समापन भएको मानिन्छ।
काठमाडौँको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको इन्द्रजात्रा हरेक वर्ष विभिन्न सांस्कृतिक गतिविधिसहित मनाइँदै आएको छ।

