चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन, बजारभन्दा रु ४० सस्तोमा चिनी पाइने



पोखरा,असोज ७ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिनुभयो ।उहाँका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । सरकारको नीतिअनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर दुई महिनासम्म पसल सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी एक सय रुपैयाँमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम छ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनी प्रतिकेजी एक सय ४० रुपैयाँमा बिक्री भइरहेका बेला सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी ४० रुपैयाँ सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।

पोखरा–१७ बिरौटाकी सचिना रानाभाटले अन्य पसलको तुलनामा साल्ट ट्रेडिङमा खाद्य सामग्री सस्तोमा खरिद गर्न पाएको बताउनुभयो । विशेषगरी चिनीमा उल्लेख्य सहुलियत पाएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय छन् । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ । साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मूल्य पसल सञ्चालन गरी सहुलियत दरमा नागरिकलाई खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्