पञ्चकन्याका बाढीपहिरो प्रभावित ६ परिवारले पाए अस्थायी आवास, दशैँ आफ्नै छानामुनि मनाउने



नुवाकोट,असोज २८ — बाढीपहिरोबाट प्रभावित नुवाकोटको पञ्चकन्या गाउँपालिका–३, ४ र ५ का परिवारलाई लक्षित गरी ६ वटा अस्थायी आवास निर्माण गरिएको छ। रुडेक नेपालले गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा गाउँपालिकासँगको समन्वयमा बालबालिकासहित जोखिममा रहेका परिवारका लागि आवास निर्माण गरेको हो।

भदौ ३ गतेको भीषण वर्षाले पञ्चकन्याका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। वर्षाका कारण करिब २० घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका थिए भने थप ५० घरपरिवार प्रभावित भएका थिए। विपद्पछि प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्रीसमेत वितरण गरिएको रुडेक नेपालले जनाएको छ।

तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनर्स्थापनालाई प्राथमिकता दिँदै निर्माण गरिएका अस्थायी आवासले सुरक्षित बसोबासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट विशेषगरी संरक्षण तथा सहयोगको आवश्यकता रहेका बालबालिकासहितका परिवार लाभान्वित हुनेछन्।

अस्थायी आवास निर्माण भएपछि घरबार गुमाएका परिवारले यस वर्षको दशैँ सुरक्षित छानामुनि मनाउन पाउने भएका छन्। यद्यपि, विपद्बाट प्रभावित अन्य परिवारलाई समेत सहयोग र पुनर्स्थापनाको आवश्यकता रहेकाले आगामी दिनमा स्थानीय सरकार, विकास साझेदार तथा सरोकारवालासँगको सहकार्यमा थप सहयोगका प्रयास अघि बढाउने रुडेक नेपालले जनाएको छ।

आवास निर्माण तथा राहत कार्यमा सहयोग गर्ने गुड नेवर्स इन्टरनेसनल नेपाल, पञ्चकन्या गाउँपालिका, स्थानीय जनप्रतिनिधि तथा अन्य सहयोगीप्रति रुडेक नेपालले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्