धादिङको गल्छीमा तीन सवारीसाधन ठोक्किए, ट्रक चालक घाइते
धादिङ,असोज २८— पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक ट्रक चालक घाइते भएका छन्।
गल्छी गाउँपालिका–७ मा चितवनबाट काठमाडौं आउँदै गरेको ना.२ ख ४७४० नम्बरको टाटा ट्रक, काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख २८५९ नम्बरको ट्रक र बा.२३–००१ नम्बरको सिमेन्ट मिक्सर आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा टाटा ट्रकका चालक नवलपरासीका ४२ वर्षीय सोमबहादुर मल्ल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनापछि कम्मरमुनिको भाग च्यापिएको अवस्थामा मल्लको उद्धार गरिएको थियो।
घाइते मल्ललाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए।

