हराउँदै गएको मौलिक संस्कृति जोगाउन हेटौँडाका वडा सक्रिय, रोटे र लिङ्गे पिङ निर्माण
हेटौँडा,असोज २८ । नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा लोप हुँदै गएको परम्परागत संस्कृति संरक्षण गर्न मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका वडा कार्यालयहरू सक्रिय बनेका छन्। आधुनिकतासँगै हराउँदै गएका रोटे तथा लिङ्गे पिङको संरक्षण र प्रवर्द्धनका लागि वडा कार्यालयहरूले पहल थालेका हुन्।
यसैक्रममा हेटौँडा उपमहानगरपालिका–९ ले आफ्नै बजेट विनियोजन गरी परम्परागत रोटे पिङ निर्माण गरेको छ। दशैँ–तिहारका बेला गाउँघरमा हाल्ने रोटे तथा लिङ्गे पिङ हराउन थालेपछि मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पिङ निर्माण गरिएको वडाध्यक्ष सुकराम केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार लोप हुन लागेको पिङ हाल्ने परम्परालाई यस वर्षदेखि निरन्तरता दिइएको हो। पिङ सञ्चालनमा आएपछि स्थानीय बालबालिका, युवायुवती तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ। पिङको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय ओम टोल विकास संस्थालाई दिइएको छ।
त्यस्तै, हेटौँडा–८ ले पनि मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धनका लागि वडाभित्र लिङ्गे पिङ सञ्चालन गर्न औपचारिक सूचना जारी गरेको छ। वडा कार्यालयले मठमन्दिर, टोल विकास संस्था तथा सम्बन्धित समितिहरूलाई आ–आफ्नो टोल वा उपयुक्त सार्वजनिक स्थानमा परम्परागत लिङ्गे पिङ निर्माण गरी सञ्चालन गर्न आग्रह गरेको छ।
हेटौँडा–८ का वडाध्यक्ष राम थापाले लिङ्गे पिङ नेपाली चाडपर्वको मौलिक पहिचान र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परा भएको बताउनुभयो। यसको संरक्षणले आपसी भाइचारा, सामाजिक एकता र सद्भाव बढाउनुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ छ।
आधुनिक जीवनशैलीका कारण परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा स्थानीय तहले थालेको यस्तो पहलले चाडपर्वको मौलिकता जोगाउन र नयाँ पुस्तामा सांस्कृतिक चेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

