नुवाकोटको बट्टारमा दुर्घटनापछि सडक अवरुद्ध, सहमति जुट्न सकेन



नुवाकोट, कात्तिक ३। नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा विद्युतीय गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएपछि पीडित पक्षसँग सहमति जुट्न नसक्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

सोमबार बट्टारस्थित युनाइटेड आधारभूत विद्यालय नजिक भएको दुर्घटनामा विदुर नगरपालिका–४ निवासी ४४ वर्षीय नवराज दाहालको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा निधन भएको थियो।

प्राप्त विवरणअनुसार हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ९११२ नम्बरको विद्युतीय गाडी र संगमचोकबाट हावाघरतर्फ आउँदै गरेको बा.३८ प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक दाहालको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते दाहाललाई तत्काल उपचारका लागि चक्रदेव अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं रिफर गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

विद्युतीय गाडी विदुर नगरपालिका–१ निवासी २३ वर्षीय देव तामाङले चलाएका थिए। दुर्घटनापछि पीडित पक्ष र सम्बन्धित पक्षबीच सहमति हुन नसकेपछि सडक अवरुद्ध गरिएको हो। सहमति प्रयासका लागि छलफल भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

सडक अवरुद्ध हुँदा उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारीचालकलाई समस्या भएको छ। दुर्घटनाको कारण, पीडित पक्षका माग तथा सहमति जुटाउने प्रयासबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्