क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगञ्ज,कात्तिक ४ । क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा बारा जिल्लाको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार, परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद रहेका छन् ।
उनीहरूलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

