हङकङका लोकतन्त्र पक्षधरलाई बेलायतमा बस्न र काम गर्न भिसा दिन सकिने
हङकङ,कात्तिक २७ । चीनको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत दोषी ठहरिएका हङकङका लोकतन्त्र पक्षधरलाई समेत बेलायतमा बस्न र काम गर्न भिसा उपलब्ध गराउन सकिने बेलायतकी गृहमन्त्री सबाना महमुदले बताउनुभएको छ।
सन् २०१९ मा हङकङमा भएको लोकतन्त्र पक्षधर प्रदर्शनमा सहभागी भएको अभियोगमा दोषी ठहरिएका तर भिसाका अन्य सबै मापदण्ड पूरा गरेका व्यक्तिलाई भिसा दिनबाट वञ्चित गर्न नहुने उहाँको भनाइ छ।
बुधबार बेलायती संसद्को मानव अधिकार समितिले सार्वजनिक गरेको पत्राचारमा गृहमन्त्री महमुदको यस्तो धारणा उल्लेख गरिएको हो।
हङकङका प्रमुख लोकतन्त्र पक्षधर कार्यकर्ता वु ची–वाई बेलायत पुग्दा केही घण्टा नियन्त्रणमा राखिएको घटनापछि समितिले यस विषयमा चासो व्यक्त गरेको थियो। राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहरिएका वु पाँच वर्ष हङकङको जेलमा बिताएर गत जुनमा रिहा हुनुभएको थियो।
समितिका अध्यक्ष तथा सांसद एलेक्स कोबेलले यस घटनाबारे गृहमन्त्रीलाई पत्र लेख्नुभएको थियो। उहाँका अनुसार सुरुमा वु ची–वाईलाई बेलायत प्रवेश गर्न अनुमति दिइएको थिएन। पछि भने उहाँलाई छ महिनासम्म बेलायतमा बस्न पाउने अनुमति दिइएको थियो।
सन् २०१९ को लोकतन्त्र पक्षधर प्रदर्शन र त्यसको एक वर्षपछि चीनले कडा राष्ट्रिय सुरक्षा कानुन लागू गरेयता बेलायतले हङकङका दुई लाख ३० हजारभन्दा बढी नागरिकलाई भिसा उपलब्ध गराइसकेको छ। बेलायती सरकारी तथ्याङ्कअनुसार तीमध्ये करिब एक लाख ७० हजार बेलायत पुगिसकेका छन्।
बेलायतस्थित पैरवी समूह ‘हङकङ वाच’ले गृहमन्त्रीको भनाइको स्वागत गरेको छ। समूहले यससम्बन्धी औपचारिक प्रक्रिया स्थापना गर्न बेलायती गृह मन्त्रालयसँग सहकार्य जारी राख्ने जनाएको छ।
सन् १९९७ जुलाई १ मा हङकङ चीनलाई हस्तान्तरण हुनुअघि जन्मिएका व्यक्तिले ‘ब्रिटिस नेसनल ओभरसिज’ (बीएनओ) राहदानी प्राप्त गर्न सक्छन्। उक्त राहदानीवाहकले बेलायतमा पाँच वर्षसम्म बस्न र काम गर्न पाउने भिसाका लागि आवेदन दिन सक्छन्। पाँच वर्षपछि उनीहरूले बेलायती नागरिकताका लागि समेत आवेदन दिन सक्ने व्यवस्था छ।

