डिजिटल विभाजन कम गर्न अन्तरराष्ट्रिय सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ,कात्तिक २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताउनुभएको छ ।
कतारको दोहामा जारी सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा रहेको डिजिटल विभाजन कम गर्ने र प्रविधिको पहुँच विस्तार गर्ने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिनुभयो ।
सम्मेलनका क्रममा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरेका देशसँग डिजिटल रूपान्तरणका लागि आगामी दिनमा सहकार्य र साझेदारी अभिवृद्धि गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । सूचना प्रविधिको पहुँच विस्तार हुनुपर्नेमा विभिन्न कारणले पहुँच खुम्चिँदै गएको अवस्था देखिएकाले त्यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा द्विपक्षीय छलफल भएको उहाँको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटघाट तथा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो । नेपालको आवश्यकता र प्राथमिकताअनुसार विभिन्न देशसँग सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्य र साझेदारीका विषयमा विचारविमर्श भएको उहाँले स्पष्ट पार्नुभयो ।
बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा सञ्चार प्रणालीलाई निर्वाध सञ्चालन गर्ने विषयमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले बताउनुभयो । विपद्का समयमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँले नेपालको तर्फबाट नीतिगत मन्तव्यसमेत प्रस्तुत गर्नुभएको थियो ।
विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।
विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी र प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उहाँको भनाइ थियो ।
कृत्रिम बौद्धिकता र पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) लगायत उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्याउन अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) ले विश्वव्यापी रूपमा दूरसञ्चार क्षेत्रको नीति निर्माण तथा समन्वयको काम गर्दै आएको छ । आइटियुमा १९४ सदस्य राष्ट्र रहेका छन् ।

