उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न



काठमाडौँ,कात्तिक ३०। उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्यदेवको पूजा आराधना गरेसँगै चारदिने छठ पर्व आज सम्पन्न भएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुले नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएका हुन्। सूर्योदयसँगै सूर्यको दर्शन गरी पूजा गरेपछि छठ पर्व समापन भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज बिहान ६ बजेर १९ मिनेटमा सूर्योदय भएको थियो।

छठ पर्वको अन्तिम दिनलाई ‘भिन्सरघाट’ भनिन्छ। यस दिन व्रतालु बिहानै घाटमा पुगेर कम्मरसम्म पानीमा डुबेर सूर्यको प्रतीक्षा गर्ने र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक परम्परा छ। छठ सम्पन्न भएपछि घाटमा प्रसाद वितरणसमेत गरिएको छ।

सूर्य र जललाई सम्पूर्ण जीवको जीवन तथा संरक्षणको स्रोत मान्दै छठ पर्वमा विशेष पूजा आराधना गर्ने धार्मिक विश्वास रहेको छ। यस पर्वमा विवाहित महिला तथा पुरुषले पति वा पत्नीको दीर्घायु, अविवाहितले सुयोग्य वर वा वधु प्राप्ति तथा सन्तान प्राप्तिको कामना गर्दै कठोर व्रत बस्ने गर्छन्।

विशेषगरी तराई मधेसमा मिथिला संस्कृतिमा आधारित भएर मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि व्यापक रूपमा मनाउन थालिएको छ। यस वर्ष काठमाडौँको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली र बल्खुलगायत स्थानमा छठ घाटलाई आकर्षक रूपमा सजाइएको थियो।

आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न गरेका हुन्। राजधानीका विभिन्न घाटमा व्रतालु तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहेको थियो।

छठ पर्व देशव्यापी रूपमा विस्तार हुँदै गएपछि सरकारले कार्तिक शुक्ल सप्तमीका दिन आज सार्वजनिक बिदासमेत दिएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मान झल्काउने छठ पर्वमा पछिल्लो समय सबै धर्म तथा समुदायका मानिस सहभागी हुने क्रम बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्