हात्तीको आक्रमणबाट ५३ वर्षीय श्रेष्ठको मृत्यु



सप्तरी,मंसिर ९ । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आज दिउँसो १ बजे हात्तीको आक्रमणबाट रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो। उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्