नुवाकोट शिवपुरीमा सुमो पल्टिँदा १२ जना घाइते, सबैलाई काठमाडौँ पठाइयो [नामावली]



नुवाकोट,मंसिर ११ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ अलडाँडास्थित गुर्जे–दुप्चेश्वर भित्री सडकखण्डमा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

शुक्रबार बिहान करिब १०ः३० बजे मानेभञ्ज्याङबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज. ४३७५ नम्बरको सुमो अनियन्त्रित भई सडकमा पल्टिएको थियोे ।

दुर्घटनामा दुप्चेश्वर गाउँपालिका–४ का ११ जना र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ का एक जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना सुस्मिता तामाङ र सात वर्षीय अनिस तामाङको अवस्था मध्यम रहेको छ। उनीहरूको हातमा गहिरो चोट लागेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई वर्षीय बालकसमेत घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

प्रहरी चौकी सेराबगरबाट करिब ११ किलोमिटर उत्तरमा भएको दुर्घटनाको जानकारी प्राप्त हुनासाथ ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त सुमो घटनास्थलमै रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा चालक आकाश तामाङ, सुस्मिता तामाङ (३० वर्ष), अनिस तामाङ, शिव तामाङ, पासाङ तामाङ, सुस्मिता तामाङ (२४ वर्ष), साहिल तामाङ, कर्मा तामाङ, बिनिता तामाङ, अन्जना तामाङ, माया तामाङ र बलराम श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्