अन्ततः रेल आउने पक्का,कहिलेदेखि चल्छ नेपालमा रेल?



काठमाडौं । नेपाली राष्ट्रिय झन्डा वाहक आकर्षक रेल एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ ।

तर त्यसको पुर्व तयारी भने भई नसकेको रेल विभागले जनाएको छ।”त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ”रेल विभागका प्रवक्ता अमन चित्रकारले भने।

उनका अनुसार रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै लागिपरिरहेको छ ।

रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक पर्दछ ।

अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न नसकेको रेल विभागले उल्लेख गरेको छ।

यस अघि जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो ।

पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागले जानकारी दिएको छ ।

नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरिसकेको छ ।

भाडादर तोकियो

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो ।

एउटा ट्रेन सेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्छ ।

त्यसैगरी एउटा ट्रेन सेटमा पाँचवटा डब्बा हुन्छन् जसमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुने छ ।

‘जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपियाँ र ‘एसी’तर्फ तीन सय रुपियाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ,’ मिश्रले भने ।

जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको उनले बताएको समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्