हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ,असोज ५। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ ।
रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताउनुभयो । चापका बिच विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनुभयो ।
‘‘अब जोडिने प्रसारण लाइन के कस्तो छ, अरु ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ । तैपनि जाँडो महिनामा पनि अहिलेजस्तै विद्युत आपूर्तिलाई सन्तुलित राख्नमा हामीले वर्कआउटहरु गरिरहेका छौं । आशा गरौ अहिले अब प्रसारण लाइनमा जोडिने लगायत आपूर्ति सन्तुलित हुनेछ,’’ उहाँले भन्नसुभयो ।
प्रसारण लाइनबाट बाहिर गएकाले केही असहज हुन्छ कि भनेर चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसमा वर्कआउट भइरहेको बताउनुभयो । ‘‘जाडो महिनामा माग धेरै हुँदो रहेछ । खासगरी दुई महिनामा त्यो हुन्छ । त्यसको वर्कआउटहरु भइरहेको छ,’’ उहाँले भन्नुभयो ।
मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिँदै अब आउने सुख्खायाममा कसरी व्यवस्थापन गर्ने भनेर प्राविधिक हिसाबले तयारी भइरहेको बताउनुभयो ।

