कोशी प्रदेशमा डेंगु संक्रमित ७९३, झापा र सुनसरीमा बढी
झापा,असोज ५ । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार झापा डेंगु संक्रमणको उच्च जोखिममा देखिएको छ। झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुनसरीमा २०३, ओखलढुंगामा १२२ र खोटाङमा ८२ जनामा डेंगु संक्रमण देखिएको छ।
निर्देशनालयका अनुसार पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ जना सम्भावित तथा दुई जना शंकास्पद बिरामी अस्पतालमा रहेको लुईँटेलले जानकारी दिइन्।
डेंगु संक्रमणको जोखिम बढ्दै गएकाले लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने निर्देशनालयले जनाएको छ। संक्रमण नियन्त्रणका लागि घर तथा समुदाय आसपास पानी जम्ने स्थान हटाउने, सरसफाइमा ध्यान दिने र लामखुट्टेको वृद्धि रोक्ने कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

