भरतपुर विमानस्थलको बिस्तार बिषयमा सर्बपक्षीय छलफल



काठमाडौं, १३ माघ : चितवनस्थित भरतपुर बिमानस्थल बिस्तारको बारेमा सर्बपक्षीय छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भरतपुर बिमानस्थल बिस्तारको सम्भावना र चुनौतीको बिषयमा सर्बपक्षीय छलफल भएको हो ।


सोमबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा रक्षा मन्त्रालयको सभाहलमा भएको छलफल कार्यक्रममा सहभागीले भरतपुर बिमानस्थलको बिस्तार अपरिहार्य भएको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, बिभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारीहरु सहभागी थिए ।


कार्यक्रममा अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको चितवनको बिमानस्थलको बिस्तार र स्तरोन्नति अनिवार्य भएको बताए । अध्यक्ष प्रचण्डले सबै मन्त्रालय र निकायको समन्वयमा यसको लागि काम अघि बढिरहेको भन्दै खुसी व्यक्त गरे । उनले चितवन बिमानस्थलको बिस्तारको लागि पर्यटन मन्त्री भट्टराईले देखाएको तदारुकता र पहलकदमीको प्रशंसा पनि गरे । चितवनको तिब्र शहरीकरण भएको भन्दै उनले सुरक्षित र व्यबस्थित बिमानस्थल अनिवार्य भएको बताए ।


रक्षा तथा उप्रधानमन्त्री पोखरेलले भरतपुर बिमानस्थल बिस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रुपमा सहयोग गर्ने बताए । उनले बिमानस्थल बिस्तारमा सेना समस्या नै नभएको बताए । भरतपुर बिमानस्थल बिस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।


कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताए । सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने उनको भनाई छ । सरोकारवाला निकायहरुको सुझावको आधारमा अन्तिम प्रतिवेदन तयार पारी काम अघि बढाइने उनको भनाई छ ।


भरतपुर महानगरपालिकाको मेयर दाहालले भरतपुर बिमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई बाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा बिकास गरिनुपर्ने आबश्यकता रहेको बताइन् । उनले चितवन शैक्षिक तथा मेडिकल हबको रुपमा बिकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्याधिक बढिरहेको बताइन् । उनले बिमानस्थल बिस्तारको काममा पर्यटन मन्त्री भट्टराईले गरेको पहलकदमीप्रति खुसी व्यक्त समेत गरिन् ।


छलफल कार्यक्रममा भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिको आबश्यकता, प्राबिधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्