तीन किताबखाना एकीकृत, अब एउटै राष्ट्रिय किताबखाना
काठमाडौँ, साउन १० — सरकारले राष्ट्रिय किताबखाना (निजामती), राष्ट्रिय किताबखाना (शिक्षक) र राष्ट्रिय किताबखाना (प्रहरी) लाई एकीकृत गर्दै आर्थिक वर्ष २०८३/८४ देखि एउटै राष्ट्रिय किताबखाना का रूपमा सञ्चालनमा ल्याएको छ।
नवगठित राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार यसअघि तीनवटै किताबखानाको नीति, कार्यक्रम र बजेट सम्बन्धित मन्त्रालयअन्तर्गत छुट्टाछुट्टै सञ्चालन हुँदा प्रभावकारी समन्वय हुन सकेको थिएन। अब गृह तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आउने बजेट पनि महानिर्देशककै निर्देशनमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ भने जिम्मेवारी र जवाफदेहिता पनि महानिर्देशककै हुनेछ।
नयाँ व्यवस्थाअनुसार शिक्षक र प्रहरी किताबखाना राष्ट्रिय किताबखानाका शाखाका रूपमा रहनेछन्। साथै, ती कार्यालयमा रहेको उपमहानिर्देशक पद हटाएर निर्देशक पद मात्रै कायम गरिएको छ।
सरकारले २०७५ जेठ ४ गते नै तीनवटै किताबखाना गाभ्ने निर्णय गरे पनि आफ्नै प्रशासनिक भवन अभावका कारण हालसम्म तीनवटै कार्यालय छुट्टाछुट्टै स्थानबाट सञ्चालन हुँदै आएका थिए।नयाँ व्यवस्थासँगै प्रशासनिक समन्वय र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

