बिहान ९ देखि सेवा सुरु भएपछि सरकारी कार्यालयमा भिड व्यवस्थापन सहज
काठमाडौँ, साउन १० — सरकारले सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याएपछि सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहज भएको छ। बिहानै सेवा लिन आउनेको सङ्ख्या बढेकाले दिउँसो कार्यालयमा भिड कम भई सेवा छिटो र प्रभावकारी बनेको सम्बन्धित कार्यालयहरूले जनाएका छन्।
भूमि प्रशासन, यातायात, जिल्ला प्रशासन, राहदानी विभाग तथा स्थानीय तहमा सेवाग्राहीले सेवा सहज भएको अनुभव गरेका छन्।राहदानी वितरण शाखाका अनुसार बिहान सेवा लिन आउनेको सङ्ख्या बढ्दै जाँदा दिउँसोको चाप घटेको छ।
सरकारले २०८२ चैत २३ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो।

