खसीको मासु महँगियो, उपभोक्ता मारमा
काठमाडौँ, साउन १० — केही महिनाअघि प्रतिकिलो एक हजारदेखि एक हजार तीन सय रुपैयाँमा पाइने खसीको मासु अहिले एक हजार सात सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पुगेपछि उपभोक्ता महँगीको मारमा परेका छन्।
व्यावसायिक बाख्रापालक सङ्घका अनुसार किसानबाट उपभोक्तासम्म पुग्दा खसी कम्तीमा चार तहका बिचौलिया पार गर्ने भएकाले मूल्य अस्वाभाविक रूपमा बढेको हो। किसानले जिउँदो खसीको प्रतिकिलो छ सयदेखि सात सय रुपैयाँ मात्रै पाए पनि उपभोक्ताले निकै महँगो मूल्य तिर्न बाध्य भएका छन्।
पशु सेवा विभागले उत्पादन पर्याप्त रहेकाले अहिलेको मूल्यवृद्धि अस्वाभाविक देखिएको जनाएको छ। भारततर्फ तस्करी र कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका पनि गरिएको छ।
उपभोक्ताको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। विभागले अनुचित मूल्य असुलेको पाइए कारबाही गरिने चेतावनी दिएको छ।

