नुवाकोटको घलेगाउँमा रोपाइँ सुरु [हेरौं ताजा तस्बिरहरु]



घलेगाउँ,असार ४ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका ३ को घलेगाउँमा रोपाइँ सुरु भएको छ । सिँचाइको सहज व्यवस्था नभएको वडा नम्बर ३ को उत्तरी मोहडाको दक्षिण क्षेत्रको माथिल्लो भेगमा पर्ने घलेगाउँको आलेफाँटमा बुधबारदेखि रोपाइँ सुरु भएको हो ।

सिँचाइ सुविधाको उपयुक्त व्यवस्था नभएकाले आकाश पानी परेको मौका छोपेर आले फाँटको सयौं रोपनी खेतमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । बुधबार रोपाइँमा सहभागी राममाया तामाङले पहिलो दिन हिलोमा धान रोप्न पाउँदा आनन्द लागेको प्रतिक्रिया जनाइन् ।

सो वडामा केउरिनी, आलेफाँट, गरे, तीनघरे र राउटारमा राम्रो धान उत्पादन हुने गर्छ । फाँटभन्दा दक्षिण उत्तरी साइटमा पर्ने केउरिनी, गरे र दर्माली क्षेत्रमा कुलो लाग्ने भए पनि सरकारीबाट पक्की सिँचाइ कुलोको व्यवस्था तदारुकताका साथ नगरिँदा किसानहरुले सास्ती व्यहोर्दै आएका छन् । पञ्‍चकन्याकै वडा नम्बर ४ को सीमामा पर्ने घट्टे खोलाबाट राम्चे, दर्माली, केउरिनी, गरे, तीन घरेसम्मको कूलो वर्षौंदेखि पर्याप्त बजेट नहुँदा किसानले सहजता पाउन सकेका छैनन् ।

आगामी आर्थिक वर्षमा पञ्‍चकन्या गाउँपालिकाबाट चाहिँदो बजेट पाउन सकेमा कुलो सुधार हुने आशमा रहेको किसान रामशरण कार्कीले बताए । विशेषगरी त्यस भेगमा जेठ अन्तिमदेखि असारमा मध्ये र साउनमा सकाउने गरी धान रोपाइँ गरिने चलन छ । कोदो रोपाइँ भने असार-साउन नै चलिरहन्छ । पर्मा लगाउने र केही ज्याला दिएर समेत स्थानीयले खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्