भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ



भक्तपुर, असार १३ — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुरमा बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी चौधरीलाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकोमा शुक्रबार राति करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न मृतकका छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्