इजिप्टसँग बराबरी खेले पनि इरानको नकआउट आशा कायम



एजेन्सी,असार १३ । इरानले इजिप्टसँग १–१ को बराबरी खेले पनि फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित राखेको छ। समूह ‘जी’ अन्तर्गत शनिबार सिएटल स्टेडियममा भएको खेलमा इरानले अन्तिम समयमा गरेको गोल भिएआरमार्फत अफसाइड ठहर भएपछि टोली ऐतिहासिक जितबाट वञ्चित भएको हो।

खेलको पाँचौँ मिनेटमै ट्रेजेगेटको पासमा महमुद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। तर १४औँ मिनेटमा इरानले खेल बराबरीमा ल्यायो। मेहदी तारेमीको पेनाल्टी इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले बचाए पनि रिबाउन्डमा रामिन रेजाएयानले गोल गर्दै इरानलाई खेलमा फर्काएका थिए।

दोस्रो हाफमा इरानले लगातार दबाब सिर्जना गरेको थियो। खेलको अन्तिम समयमा शोजा खालिलजादेहले गरेको गोल भिएआर परीक्षणपछि अफसाइड ठहरियो। त्यसलगत्तै इन्जुरी समयको सातौँ मिनेटमा सइद एजातोलाहीको हेडर क्रसबारमा लाग्दा इरान विजयी गोल गर्नबाट चुक्यो।

समूह चरणका तीनै खेल बराबरी खेलेको इरानले पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा भने कायम राखेको छ। अब उत्कृष्ट तेस्रो स्थानमा रहने आठ टोलीमध्ये पर्न उसले अन्य समूहका नतिजा आफ्नो पक्षमा आउनुपर्नेछ। त्यसका लागि समूह ‘एल’ मा घानाले क्रोएसियालाई पराजित गर्नुपर्ने, समूह ‘के’ मा डिआर कङ्गोले उज्बेकिस्तानसँग नहार्नुपर्ने वा उज्बेकिस्तानले सात वा सोभन्दा बढी गोलअन्तरको जित निकाल्न नहुने, तथा समूह ‘जे’ मा अल्जेरिया वा अस्ट्रियामध्ये कम्तीमा एक टोलीले जित निकाल्नुपर्ने अवस्था रहेको छ।

यता, खेलअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। इजिप्टले जुलाई ३ मा डलासमा अष्ट्रेलियासँग अन्तिम ३२ को खेल खेल्नेछ। यसै समूहमा न्युजिल्यान्डलाई ५–१ ले हराउँदै बेल्जियम समूह विजेता बनेको छ।

प्रतिक्रिया दिनुहोस्