राती १० देखि विहान ५ बजेसम्म हिडडुलमा रोक



काठमाडौँ,असार ५। सरकारले राती १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले सरकारले अत्यावश्यक सेवाबाहेक हिँडडुल गर्न रोक लगाएको हो ।सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो पारे पनि संक्रमण बढीरहेको छ । ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।गृह मन्त्रालयले यसलाई कडाइका साथ लागु गर्न ७७ वटै जिल्लालाई निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ ।

लकडाउन खुकुलो बनाएसँगै सरकारले सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ । तर, राती एक जिल्लाबाट अर्काे जिल्लामा सुरक्षाकर्मीलाई छलेर जाने गरेकोले संक्रमण फैलन भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

यसको उल्लंघन गरेमा अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि ल्याइएको छ ।त्यसैगरी, बाहिर काममा निस्कँदा कम्तीमा पनि २ मिटरको सामाजिक दुरी कायम गर्न पनि भनिएको छ । यसको अनुगमनका लागि पनि सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।यस्तै मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग र कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

गृह मन्त्रालयले जिल्लाको स्थिति हेरेर हरेक जिल्ला प्रशासन कार्यालयले सुरक्षा मापदण्ड र लकडाउन मोडालिटी बनाउन सक्ने छन् चैत ११ गतेबाट लगाइएको लकडाउन मोडालिटी जेठ ३२ सम्म देशभर एकै किसिमको थियो ।

प्रतिक्रिया दिनुहोस्