विवाह गरी सात वर्ष बसेपछि विदेशी महिलाले अंगीकृत नागरिकता पाउने 



असार ८ । नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले लगातार ७ वर्ष नेपालमा बसेपछि अंगीकृत नागरिकता पाउने भएका छन। यसप्रकारको नगारिकता दिने गरी नागरिकता ऐनमा संशोधन हुने भएको हो ।

आइतबार प्रतिनिधि सभाको राज्यव्यवस्था समितिको बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । समितिको बहुमतले प्रस्ताव पारित गरेको सभापति शशी श्रेष्ठले जानकारी दिएकी हुन् ।

प्रस्तावको पक्षमा नेकपाका सांसदहरू थिए भने प्रतिपक्षी दलका सांसदहरूले यसमा असहमति जनाए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अरु बुँदामा सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने व्यवस्थामा सहमति नभएको जनाएको हो । यसबारेमा कांग्रेसले समितिमा फरक मत नै दर्ता गराएको छ ।

मधेश केन्द्रित विपक्षी पार्टी राजपा, समाजवादीले पनि यसको विरोध गर्दै विपक्षमा उभिए । नेमकिपाको पनि फरक मत रहेको छ ।

प्रतिपक्षी कांग्रेस र जसपाका सांसदहरूले भने नागरिकतासम्बन्धी ऐन २०६३ को प्रावधान अहिले पनि कायम हुनु पर्ने बताएका छन् ।

समितिले विधेयकमा अंगीकृत नागरिकता नपाउञ्जेल विदेशी महिलालाई स्थायी बसोबास अनुमति पत्र दिने प्रस्ताव पनि ल्याएको छ । राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न ७ वटा अधिकार दिने उक्त प्रावधान पनि पारित भएको छ । अरु प्रस्ताव भने सर्वसम्मतिले पारित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्