देशका विभिन्न भू–भागमा राति वर्षा र चट्याङको सम्भावना



काठमाडौं,बैशाख १९ । जल तथा मौसम विज्ञान विभाग ले आज (शनिबार) राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। साथै बाँकी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम स्तरको वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका कारण मौसम प्रभावित भएको विभागले उल्लेख गरेको छ।

विभागले सम्भावित वर्षा, चट्याङ र हावाहुरीबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्