धोबीखोलामा अतिक्रमित पक्की घर भत्काउन सुरु



काठमाडौँ,बैशाख १९। काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रअन्तर्गत देवीनगरमा अतिक्रमण गरी निर्माण गरिएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आजदेखि उक्त क्षेत्रमा रहेका घरटहरा हटाउने अभियान अघि बढाइएको हो । “बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत धोबीखोलाको देवीनगर क्षेत्रमा घरटहरा हटाउने कार्य जारी छ,” उहाँले बताउनुभयो ।

यसअघि शुक्रबार सरकारको समन्वयमा बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाइएको थियो । महानगर प्रहरीका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइसकिएको छ ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन कार्य जारी रहेको जनाइएको छ ।महानगरले नदी किनार अतिक्रमण नियन्त्रण गरी वातावरणीय संरक्षण र शहरी व्यवस्थापन सुधार गर्ने उद्देश्यले अभियानलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्