जनप्रतिनिधिद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति पत्रकार महासंघ नुवाकोटद्वारा खेद प्रकट



नुवाकोट,असार ११। तार्केश्वर गाउँपालिकास्थित गाउँसभाको समाचार सँकलन गर्न पुगेका पत्रकारमाथि जनप्रतिनीधीहरुले दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासँघ नुवाकोटले बिज्ञप्ति मार्फत  खेद प्रकट गरेको छ । 

नेपाल पत्रकार महासँघ नुवाकोटका सदस्य तथा टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारी,त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदिप  श्रेष्ठ र मिक्स एफएमका संचालक बिष्णु अधिकारी समाचार सँकलन गर्न गाउँपालिकामा जाँदा उनिहरुमाथि दुव्र्यवहार भएको भन्दै पत्रकार महासँघले खेद प्रकट गरेको हो ।

‘‘नेपाल पत्रकार महासँघ नुवाकोट कार्यसमितिका पत्रकार तथा टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारी,त्रिशुली खबरका सम्पादक नवदिप श्रेष्ठ,मिक्स एफएमका संचालक बिष्णुप्रसाद अधिकारी बुधबार गाउँपालिकामा भएको गाउँसभाको समाचार संकलन गरिरहेका बेला भएको दुर्ववहार र संचार सामग्री तोडफोड घटनाप्रति यस शाखा गम्भीर आपत्ति प्रकट गर्दछ।” विज्ञप्तिमा भनिएको छ ।

नेपाल पत्रकार महासँघ नुवाकोटका सचिव जगदीश खनाल द्धारा जारी विज्ञप्तिमा समाचार छायांकन गरिरहेका पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसी तार्केश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दयानिधि अधिकारी,वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले तोडफोड गरेको घटना र  दुव्र्यवहारले स्वतन्त्र पत्रकारिताको अपमान भएको भन्दै खेद प्रकट गरिएको छ ।

तर घटनामा संलग्न तीनै वडा अध्यक्षले भने घटनाको जिम्मेवारी लिनुको सट्टा अतिरन्जित गर्ने,बिज्ञप्ति जारी गरी प्रहरीको हातबाट क्यामेरा क्षति भएको आशय व्यक्त हुनु दुर्भाग्यपूर्ण भएको निचोड पत्रकार महासंघको छ  ।

पत्रकार महासंघ नुवाकोटद्वारा जारी बिज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्