मधेशमा गहिरिँदै जलसङ्कट : भूमिगत पानी तीव्र घट्दै, ६१ लाख प्रभावित
काठमाडौँ, वैशाख १९ — मधेश प्रदेशमा जलवायु परिवर्तन, भू–उपयोग परिवर्तन र चुरे–भावर क्षेत्रको विनाशका कारण गम्भीर जलसङ्कट उत्पन्न भएको संसदीय अध्ययनले देखाएको छ।
अध्ययनअनुसार भूमिगत जल सतह वार्षिक २–४ मिटर घट्दै गएको छ भने करिब ६० प्रतिशत ट्युबवेल सक्सन सीमाभन्दा तल पुगेका छन्। जल भण्डारणमा ठूलो गिरावट आएसँगै करिब ६१ लाख जनसंख्या प्रभावित भएका छन्।
वन विनाश र अनियन्त्रित उत्खननले पुनर्भरण प्रणाली कमजोर बनाउँदा पानी अभाव झन् चर्किएको निष्कर्ष निकालिएको छ। समितिले वर्षा पानी सङ्कलन, कृत्रिम पुनर्भरण, भावर क्षेत्र संरक्षण र उत्खनन नियन्त्रणलगायत उपाय तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।

