म्याग्दीका भीरमा सुरु भयो जोखिमपूर्ण मह सिकार, ७० लिटर मह संकलन



म्याग्दी, बैशाख १९ — म्याग्दी जिल्लाका विभिन्न लेकाली क्षेत्रमा परम्परागत मह सिकार सुरु भएको छ। धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका भीरहरूबाट यस वर्षको मह संकलन कार्य थालिएको हो।

धवलागिरी गाउँपालिका–२ खोरीयाका अनुभवी महसिकारी मोतिप्रसाद पाइजाका अनुसार शुक्रबारदेखि मह सिकार अभियान सुरु गरिएको हो। उहाँको टोलीले खोरीया नजिकैको महभिरमा रहेका दुई घारबाट पहिलो दिनमै करिब ७० लिटर मह संकलन गर्न सफल भएको छ। आगामी दिनहरूमा अन्य भीरहरूमा पनि मह सिकारलाई निरन्तरता दिइने जनाइएको छ।

अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका अर्का महसिकारी लोकबहादुर पाईजाका अनुसार मह सिकार बेँसीका भीरबाट सुरु भई असारसम्म लेकका अग्ला पहाडतर्फ विस्तार हुन्छ। वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ।

मह सिकार अत्यन्त जोखिमपूर्ण पेशा मानिन्छ। सिकारीहरू डोरी (पराङ) को सहायताले भीरमा झुण्डिएर मौरीको गोला काट्दै मह निकाल्ने गर्छन्। मह निकाल्ने क्रममा दुई समूह परिचालन गरिन्छ—एक समूहले माथिबाट डोरी झुन्ड्याउने काम गर्छ भने अर्को समूहले तलबाट मह थाप्ने र व्यवस्थापन गर्ने जिम्मा लिन्छ।

मौरीको आक्रमणबाट बच्न धुवाँ प्रयोग गरिन्छ। धुवाँ लगाइएपछि मौरी हट्ने मौका छोपेर सिकारीहरूले मह निकाल्ने गर्छन्। यस क्रममा सिकारीहरूलाई भीरमा झुण्डिनुपर्ने भएकाले ज्यान जोखिममा पर्ने गर्दछ।

भिरमह स्वादिलो, पोषिलो र स्वास्थ्यका लागि लाभदायक मानिन्छ। साथै धार्मिक कार्यमा पनि यसको प्रयोग हुने गरेको छ। बजारमा भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्