लिखु गाउँपालिकाले गर्यो कृषि बाली अनुगमन



नुवाकोट,असार १९ । नुवाकोट जिल्लास्थित लिखु गाउँपालिकाले स्थानीय स्तरमा किसानले लगाउदै आएको बाली तथा तरकारीजन्य खेतीको अनुगमन गरेको छ।अनुगमनका क्रममा गाउँपालिकाका वडा नम्बर ६ मा रहेको थान्सिङ कृषि सहकारी संस्था मातहतका समूहले लगाउदै आएको तरकारी तथा कृषि बालीको अवलोकन गरेको हो।

सो क्रममा गाउँपालिकाका उपाध्यक्ष रोजिना राई,वडा नम्बर ६ का वडा अध्यक्ष हरिशरण लामिछाने,जिल्ला कृषि बजार प्राविधिक रामकृपाल महतो,थान्सिङ कृषि सहकारीका अध्यक्ष दिपककुमार पन्त,कृषि प्राविधिक प्रदीप भट्ट लगायतको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा स्थानीय समूहले लगाउदै आएको अकबरे खुर्सानी,गोलभेडा,करेला,बोडी जस्ता तरकारीको उत्पादन तथा बजारीकरणमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको नवराज थापाले बताए ।

सोही क्रममा थान्सिङ कृषि सहकारीले सुरु गरेको नौ दिने धानको बिऊ रोपाइँ गरिएको खेतको नमूना रोपाइँको निरीक्षण समेत गरिएको थियो।कृषि क्षेत्रमा उत्साहित कृषकलाई आगामी दिनमा अरु प्रोत्साहनका कार्यक्रम ल्याउन संस्था लागि परेको संस्थाका अध्यक्ष दिपककुमार पन्तले बताउनुभयो।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष रोजिना राईले कृषि पेशा स्तर उन्नतिका लागि गाउँपालिकाका तर्फबाट विभिन्न अनुदानका कार्यक्रम ल्याउने तयारी रहेको बताउनुभयो।वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले नवयुवा पुस्तालाई पछिल्लो समय कृषिका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम अगाडि बढाइएको बताउनुभयो।

सो क्रममा स्थानीय कृषकलाई आवश्यक कृषि परामर्श समेत प्रदान गरिएको थियो ।

यस सम्बन्धि भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्