भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ,असोज ५ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाएको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग सोमबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री तिमिल्सिनाले बाढी प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी त्यसैअनुसार राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई पुनःस्थापित गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो ।
बाढीका कारण विस्थापित परिवारलाई पुरानै स्थानमा पुनःस्थापित गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सुरक्षित स्थानमा नयाँ बस्ती विकासका लागि स्थानीय तहसँग छलफल भइरहेको बताउनुभयो । “पहिल्यैको ठाउँमा बस्ती राख्न सक्ने अवस्था छैन । स्थानीय तहबाट कहाँ बस्ती बनाउन उपयुक्त हुन्छ भनेर छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।
पुनःस्थापना र पुनर्निर्माणका काम छुट्टाछुट्टै निकायबाट सञ्चालन गर्नुभन्दा एकीकृत ढङ्गले अघि बढाउनुपर्नेमा पनि मन्त्री तिमिल्सिनाले जोड दिनुभयो । उहाँका अनुसार कुनै एक निकायले नेतृत्वदायी भूमिका लिएर अन्य सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग परिचालन गर्दा पुनर्निर्माणको काम प्रभावकारी र छिटो अघि बढाउन सकिन्छ ।
भेटवार्तामा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टीका), महासचिव डा. चिरञ्जीवी खड्का, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार रावतलगायत सहभागी हुनुहुन्थ्यो । छलफलमा सरकारले भोटेकोशी बाढी प्रभावितका लागि गरिरहेको काम तथा त्यसमा एनआरएनएले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।
एनआरएनएले भोटेकोशी बाढी प्रभावितका लागि संस्थागत रूपमा राहत वितरणको तेस्रो चरणको काम भइरहेको जनाएको छ । विस्थापित तथा जोखिममा रहेका महिला, बालबालिका र अन्य संवेदनशील समुदायलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि छलफल भएको थियो । विपद्का समयमा राहत सामग्रीसँगै सही र समयमै सूचना प्रवाह पनि महत्वपूर्ण हुने उल्लेख गर्दै एनआरएनएले राहत वितरणसँग सम्बन्धित सूचना आदानप्रदान, समन्वय र साझेदारीमा सरकारसँग सहकार्य गर्न चाहेको जनाएको छ । शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा समेत थप सहयोग गर्न एनआरएनए तयार रहेको प्रतिनिधिमण्डलले बताएको छ ।
भेटमा एनआरएनए डेभलपमेन्ट फन्डको कार्यप्रगति तथा नेपालमा लगानी र विकासका क्षेत्रमा त्यसलाई उपयोग गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो । गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी भित्र्याउन सकिने सम्भावनाप्रति मन्त्री तिमिल्सिनाले चासो व्यक्त गर्दै त्यसका लागि सरकारले आवश्यक सहजीकरण र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
त्यस्तै, गैरआवासीय नेपालीसम्बन्धी कानुनी व्यवस्थामा संशोधन, गैरआवासीय नेपाली नागरिकता, सूचना प्रविधिको प्रयोग, डिजिटल सेवाको प्रभावकारिता, प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्ने तथा संस्थागत सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

