नेपालमा एकैदिन २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ४५ पुग्यो



काठमाडौं साउन ९ । नेपालमा एकैदिन २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा ८५ वर्षीया वृद्धा र १७ वर्षीया किशोरीको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

वीरगन्ज महानगरपालिका-११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको भने बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवतीको उपचारका क्रममा साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो ।

वृद्धा मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । र साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार नारायणीमा सारिएको थियो ।

युवतीको भने नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा मृत्युपछि कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए ।

उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको डा. अन्सारीले बताएका छन् । इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्