सूर्यगढी युवा क्लब बन्यो प्रथम मेयर कप फुटबल प्रतियोगिताको विजेता



नुवाकोट,कात्तिक २४ । बेलकोटगढी नगरपालिकाको अर्चलेमा आयोजित सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुला फुटबल प्रतियोगिता–२०८३ को उपाधि सूर्यगढी युवा क्लबले जितेको छ। सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक कन्चना देउराली युवा क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सूर्यगढीले उपाधि हात पारेको हो।

विजेता सूर्यगढी युवा क्लबले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता आयोजक कन्चना देउराली युवा क्लबले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

बेलकोटगढी नगरपालिका–६ स्थित अर्चले खेल मैदानमा कन्चना देउराली युवा क्लबको आयोजना तथा दि मालिका युवा क्लबको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। विजेता तथा उपविजेता टोलीलाई बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेलले पुरस्कार वितरण गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री पौडेलले खेलकुदले मानिसमा सकारात्मक परिवर्तन ल्याउनुका साथै अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेल क्षेत्रबाट समाजमा सकारात्मक प्रभाव पार्न सकिने धारणा व्यक्त गरे।

बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले नगरपालिकाले खेलकुदको विकास र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद गतिविधिमार्फत नयाँ खेलाडी उत्पादन गर्नु रहेको उनले उल्लेख गरे।

गत कात्तिक १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नुवाकोटका विभिन्न २३ फुटबल टोलीको सहभागिता रहेको थियो। बडादसैँ तथा दीपावलीको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष पनि जिल्लाका सक्रिय फुटबल क्लबहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक प्रशन्न थिङले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताले जिल्लाको खेलकुद विकाससँगै स्थानीय स्तरमा फुटबल खेलाडीको प्रतिभा पहिचान र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिता ग्रामीण क्षेत्रमा फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो।

नुवाकोटमा उच्च पुरस्कार राशि भएका फुटबल प्रतियोगितामध्ये अर्चलेमा आयोजित यो प्रतियोगिता पनि एक हो।

प्रतिक्रिया दिनुहोस्