देवकोटा जयन्तीमा जलवायु परिवर्तनबारे वक्तृत्वकला, दुई लेखक सम्मानित



नुवाकोट, कात्तिक २४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा नुवाकोटको झिल्टुङमा जलवायु परिवर्तनसम्बन्धी साहित्यिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्‍याएका दुई लेखकलाई सम्मानसमेत गरिएको छ।

महाकवि देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङको आयोजनामा बेलकोटगढी नगरपालिका–५ झिल्टुङमा आयोजित ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित महादेव माध्यमिक विद्यालयका सोनु श्रेष्ठ प्रथम भएका छन्।

प्रतियोगितामा बेलकोटगढी नगरपालिका–८ जिलिङस्थित कल्याणी माध्यमिक विद्यालयकी अनिशा पुडासैनी द्वितीय र बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कस्थित पञ्चासे माध्यमिक विद्यालयकी जमुना पौडेल तृतीय भएका छन्। यस्तै, बेलकोटगढी नगरपालिका–५ लामाचौरस्थित इन्द्रेश्वर आधारभूत विद्यालयकी कुसुम नेपाल र कोल्पुटारस्थित महादेव माध्यमिक विद्यालयका हिमांशु नेपालले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।

जिल्लाका ११ विद्यालयका १३ जना विद्यार्थी सहभागी प्रतियोगितामा जलवायु परिवर्तनले वातावरण, मानव जीवन तथा भावी पुस्तामा पार्ने प्रभावबारे विद्यार्थीको चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा लेखक, स्रष्टा, साहित्यकार तथा कविहरूले आफ्ना साहित्यिक रचना वाचन गर्दै साहित्यिक माहोल सिर्जना गरेका थिए। प्रमुख अतिथि साहित्यकार तथा कवि ज्ञानुवाकर पौडेलले प्रतियोगिताका विजेता विद्यार्थी तथा स्रष्टाहरूलाई सम्मान गरेका थिए। उनले साहित्यको विकास र प्रवर्द्धनबाट नेपालको कला, पहिचान तथा लोकप्रियता बढ्दै गएको बताए।

सोही अवसरमा साहित्य क्षेत्रमा योगदान पुर्‍याएको कदरस्वरूप लेखक श्रीराम श्रेष्ठ र रामहरि आचार्यलाई सम्मान गरिएको छ। श्रेष्ठका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् भने आचार्यका विभिन्न साहित्यिक कृति प्रकाशित छन्।

कार्यक्रममा प्रतिष्ठानका नारायण नेपाल, मोहन नेपाल, केदारप्रसाद नेपाल तथा बेलकोटगढी नगरपालिका–५ का वडासदस्य एवं प्रतिष्ठानका सचिव गोकर्ण नेपाललगायतले साहित्यिक रचना वाचन गरेका थिए।

महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले विगतका वर्षदेखि विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्