भोटेकोशी बाढीका मृतकको सम्झनामा बट्टारमा दीप प्रज्वलन, उत्तरगयामा शान्ति प्रार्थना



नुवाकोट, कात्तिक २४ । गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा नुवाकोटको बट्टारमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। विपत्तिको पीडामा सामूहिक एकता, सहकार्य र मानवीय संवेदना प्रकट गर्दै बट्टारको मुख्य सडकमा दीप प्रज्वलन गरिएको हो।

विगतका वर्षहरूमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको बट्टार युवा क्लबले यस वर्ष बाढीबाट सिर्जित पीडालाई आत्मसात् गर्दै नियमित सांस्कृतिक कार्यक्रम स्थगित गरी श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको आयोजक क्लबले जनाएको छ। शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विपद्बाट प्रभावित परिवारलाई दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले विपत्तिको समयमा सामूहिक एकता, भाइचारा, सहकार्य र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। स्थानीय युवा उशनमान श्रेष्ठले विपत्तिको पीडामा उत्सवभन्दा मानवीय संवेदनासहित साथ दिनु महत्वपूर्ण रहेको बताए। उनले यस वर्ष झिलिमिली र रमझमभन्दा दिवंगत आत्माहरूको सम्झनामा बालिएको सामूहिक दीप नै सच्चा श्रद्धा भएको उल्लेख गरे।

यसैगरी, भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको चिरशान्ति तथा मोक्षको कामना गर्दै नुवाकोटसँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिकामा विशेष शान्ति तथा मोक्ष प्रार्थना कार्यक्रम गरिएको छ।

उत्तरगया गाउँपालिका–५ को कार्यालय अगाडि आयोजित कार्यक्रममा बाढीमा परी दिवंगत भएका सम्पूर्ण व्यक्तिको आत्माको शान्ति र सद्गतिको कामना गरिएको थियो। कार्यक्रममा सात जना पण्डितले शास्त्रीय विधिअनुसार पाठ तथा विभिन्न वैदिक मन्त्र वाचन गरेका थिए।

बाढीमा आफ्ना परिवारजन, सन्तान तथा आफन्त गुमाएका परिवारका सदस्यहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। उनीहरूले सामूहिक रूपमा दिवंगत आत्माको चिरशान्ति, सद्गति तथा मोक्ष प्राप्तिको कामना गरेका थिए।

स्थानीय सामाजिक युवा श्रीकृष्ण पौडेलका अनुसार विपत्तिको समयमा सबै समुदाय एकजुट भएर मानवीय संवेदना, आपसी एकता, समानता र सामाजिक सद्भाव प्रकट गरेका छन्। सहभागीहरूले विपत्तिको पीडाबाट सामूहिक रूपमा उन्मुक्ति पाउन सहकार्य र एकताको आवश्यकता रहेकोमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्