नेपालमा ७०.६ प्रतिशत कोरोना संक्रमित निको, ४५ जनाको मृत्यु



काठमाडौ,साउन १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ७०.६ प्रतिशत कोरोना संक्रमित निको भएको जानकारी गराएको छ । शनिबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएको जानकारी दिएका हुन् । उनका अनुसार शनिबारसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ । त्यस्तै २४ घन्टामा भने १ सय ६ जना डिस्चार्ज भएका छन् ।

४५ जनाको मृत्यु कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको जानकारीअनुसार बारा परवानीपुरकी १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पताल (नारायणी अस्थायी कोरोना)मा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडीटी एन्टीबडी पोजिटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्