राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने, विदेशका नेपाली कर्मचारी र कामदारलाई फरक पासपोर्ट !



काठमाडौं साउन ११ । आगामी आर्थिक वर्षदेखि राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । त्यसकै विवरणका आधारमा पासपोर्ट जारी हुनेछ ।

सरकारले गत २९ असारमा राहदानी नियमावली जारी गरेर यस्तो व्यवस्था गरेको हो । मन्त्रिपरिषद्बाट पारित नियमावली राजपत्रमा प्रकाशनका लागि अहिले मुद्रण विभाग छ ।

गत वर्ष नयाँ राहदारी ऐन जारी भएपछि त्यहीअनुसार नयाँ नियमावली बनाइएको हो । आगामी आर्थिक वर्षदेखि विद्युतीय पासपोर्ट (इ–पासपोर्ट) वितरण सुरु भएपछि यो व्यवस्था कार्यान्वयनमा लगिने राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बायोमेट्रिक प्रविधिको राष्ट्रिय परिचयपत्र वितरणको काम गरिरहेको छ । हालसम्म करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण भइसकेका छन् । आगामी आर्थिक वर्षभित्र परिचयपत्र वितरण गरिसक्ने लक्ष्य रहेको पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले बताएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

यस्तै विदेशस्थित कूटनीतिक नियोगमा करारमा कार्यरत कर्मचारी र सामुद्रिक यातायातमा काम गर्ने नेपालीलाई फरक खालका पासपोर्ट दिने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्