पश्चिमी चक्रवातको प्रभावले वर्षा हुने सम्भावना, सतर्क रहन विद्युत् प्राधिकरणको आग्रह



काठमाडौं,कात्तिक ११ । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसम बुलेटिनअनुसार पश्चिमी चक्रवातका कारण मौसम प्रतिकूल हुन सक्ने भन्दै प्राधिकरणले सम्भावित जोखिमबाट जोगिन अनुरोध गरेको हो।

प्रतिकूल मौसमका कारण विद्युत् संरचनामा क्षति पुग्ने र सेवा अवरुद्ध हुन सक्ने भएकाले सुरक्षित स्थानमा रहन, विद्युत् उपकरण प्रयोग गर्दा सावधानी अपनाउन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न प्राधिकरणले आग्रह गरेको छ।

विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युत् संरचनामा क्षति पुगेको देखिएमा सम्बन्धित वितरण केन्द्र वा हेल्पलाइन नम्बर ११५० मा सम्पर्क गरी जानकारी दिन पनि प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत् सेवासम्बन्धी जानकारीका लागि प्राधिकरणको वेबसाइट nea.org.np/nolights हेर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्