चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह



काठमाडौँ, कात्तिक ११ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चक्रवातको प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ।

सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ। साथै, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनाबारे नियमित जानकारी लिन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

प्राधिकरणले आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्