हालसम्म विदेशमा कोरोनाबाट १६१ नेपालीको मृत्यु : एनआरएनए स्वास्थ्य समिति



काठमाडौं साउन ११ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट हालसम्म नेपालबाहिर १६१ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार बेलायतमा थप एक नेपालीको निधन भएसँगै मृतकको संख्या १६१ पुगेको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ । सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्