पत्नी हत्या अभियोगमा दोषी कोइराला सम्बन्धी मुद्दाको फैसला पुनरावलोकन हुने



काठमाडौ,साउन ११ । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी सर्वोच्चले गरेको फैसला पुनरावलोकन हुने भएको छ ।

शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनले पुनरावलोकनको अनुमति पाएको हो । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन गर्न अनुमति दिएको हो । न्याय प्रशासन ऐन २०७३ को दफा ११ को उपदफा २ खण्ड क बमोजिम पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।

पूर्व डीआइजी कोइरालले आफ्नौ श्रीमती हत्या गरेको, प्रमाण लुकाउन शव जलाएको पुष्टि गर्दै काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । ललितपुर पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै फैसला सदर गरेको थियो । तर २०७७ असार १५ मा सर्वोच्च अदालतले भने ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचाराधीन बनेको छ । अब कम्तिमा पनि तीन न्यायाधीशको इजलाशले महान्यायाधीवक्ताको कार्यालयले प्रस्तुत गरेका कारणहरुमा सुनुवाइ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्