चितवन कुसुमखोला घटनाका दोषीलाई कारबारी गर्न सरकारलाई निर्देशन



काठमाडौं,साउन ११ । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले चितवनको कुसुमखोला घटनाको छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकले नेपाल सरकार वन तथा वातावरण मन्त्रालयलाई चितवनको कुसुमखोलामा हात्ती लिएर जनताको घर भत्काउन र आगलागी कार्यमा प्रतक्ष संलग्न व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो । बैठकपछि समितिका निर्णय सुनाउँदै सभापति कृष्णभक्त पोखरेलले घटनाको छानविन गरी संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्न र कारबाही भएको व्यहोरा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिए ।

यस्तै २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको सम्बन्धमा पनि सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न समेत समितिले बन तथा वातावरण मन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । बन तथा वातावरण मन्त्रालयको सहसचिवको नेतृत्वमा छानविन समितिको गठन भएको भन्ने जानकारी आएकोले उक्त समितिको प्रतिवेदन सात दिन भित्र समितिमा बुझाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले उक्त प्रतिवेदन पछि आवश्यकता अनुसार समिति भित्रै कार्यदल गठन गरी छानविन गर्ने निर्णय समेत गरेको छ ।

समितिले साउन ३ गते भएको उक्त घटना मानवता विरोधी अपराध भएको ठहर गरेको छ । हात्ति लगाएर घर भत्काउने एवं आगजनी गर्ने कार्य गैह्र संवैधानिक एवं गैह्र कानूनी भएको समेत ठहर गरेको छ । समितिले संविधानले प्रदान गरेको सम्मानपूर्वक बााच्न पाउने हक र बासस्थानको हकविपरित गईजनतालाई विपदको समयमा वैकल्पिक व्यवस्था विना घरबासबाट नउठाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ । खासगरी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा यो समस्या रहेको भन्दै मानिसहरुलाई घरबासबाट नउठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्