सेनाको कुटाइबाट चेपाङको मृत्युबारे जनजाति महासंघद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण



काठमाडौं साउन ११ । नेपाल आदिवासी जनजाति महासंघले चितवनका राजकुमार चेपाङको सेनाको कुटाइबाट भएको मृत्युबारे मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्व टोलीले आइतबार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर आइतबार ध्यानाकर्षणपत्र बुझाएको हो । महासंघले कुसुमखोलामा बसोबास गर्दैआएका चेपाङलगायत आदिवासीको घरबास उठिवास तुल्याइएप्रति खेद प्रकट गर्दै उनीहरुको आवासका हक सुनिश्चित गरिनु पर्ने भनेको छ । ‘कुसुमखोलाका चेपाङहरुको घर भत्काउने र हात्ती लगाएर घर भत्काउने घटनामा संलग्न सुरक्षाकर्मी र कर्मचारीहरुमाथि निष्पक्ष अधिकार सम्पन्न उच्चस्तरीय अध्ययन अनुसन्धान कार्यदल गठन गरी सत्यतथ्य बुझ्ने काम हुनुपर्छ,’ ध्यानाकर्षणपत्रमा छ ।

ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले नागरिकको बाँच्न पाउने अधिकारीको संरक्षण हुन नसकेको बताए । ‘नागरिकको मानव अधिकारप्रति सरकारको ध्यान पुग्न सकेको छैन,’ अध्यक्ष शर्माले टोलीलाई आश्वस्त पार्दै भने, ‘नागरिकको मानव अधिकारको संरक्षण, पीडितमाथि न्याय, क्षतिपूर्तिका निम्ति हाम्रो पहल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्