नुवाकोटको सूर्यगढी गाउँपालिकामा अनिश्‍चितकालीन निषेधाज्ञा [पत्रसहित]



नुवाकोट साउन ११ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना भाइरस फैलन नदिन भन्दै सूर्यगढी गाउँपालिकामा अनिश्‍चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

सूर्यगढी गाउँपालिका २ को क्वारेन्टाइनमा रहेका एकजनामा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि वडा नं २ र ३ का पहरेथोक तथा वागेश्‍वरी माध्यमिक विद्यालय वरपरका चारकिल्लाभित्र निषेधाज्ञा लगाइएको हो । जिप्रकाले आइतबार जारी सूचना अनुसार पूर्वमा बोहोरे भन्ज्याङ, दक्षिणमा पोखरीडाँडा, ३ नं वडा कार्यालय, हिलेटोल, पश्चिममा नयाँ चौतारा र उत्तरमा वागेश्‍वरी भन्ज्याङमा निषेधाज्ञाको चार किल्ला क्षेत्र तोकिएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा अत्यावश्यक सेवा खाद्यान्न, औषधि, ग्यास, दूत, तेल, खानेपानीलगायत चिज भने ढुवानी गर्न पाइनेछ । तर उक्त क्षेत्र भित्रका सबै कार्यालय संघ संस्थाहरुबाट प्रदान गरिँदै आएको सेवा, हाटबजार लगायत सम्पूर्ण पसलहरु, उद्योगधन्दा, व्यवसाय, कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, ब्रतवन्ध) लगायत भेला हुने र घरबाहिर निस्कने लगायतका कार्यहरु गर्न पाइने छैन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले निकालेको सूचनाअनुसार उक्त क्षेत्रभित्र चल्ने सवारी साधनहरु (दुई पांग्रे, चारपांग्रे) तथा अन्य वडाहरु तथा स्थानीय तहसँगको आवातजावतमा पनि निधेष गरिएको छ ।

नुवाकोटमा आइतबारसम्म ३७ संक्रमित भेटिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्