साउन १५ गतेसम्म वर्षा हुने सम्भावना, तराई भूभाग नजिक न्यूनचापीय रेखा



काठमाडौं साउन १३ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । सोमबार रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । ।

अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिराको जोखिम बढेको बताइएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्