नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुग्यो



नेपालभर थप ३११ जनामा कोरोना संक्रमण, २४ घन्टामा १ मृत्यु
काठमाडौं साउन १३ । मुलुकभर मंगलबार थप ३११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा ३११ सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उनी गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्किएका थिए । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्