पूर्वमन्त्री थापासहित राप्रपाका केन्द्रीय नेता कांग्रेस प्रवेश



काठमाडौं साउन १३ । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित स्वागत गरे । पार्टी प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई पार्टी सहमहामन्त्री मनोनयन गरिएको सभापति देउवाले कार्यक्रममा जानकारी गराए । कांग्रेस प्रवेश गर्नेमा थापासँगै धनकुटा राप्रपाका सबै तहका समिति रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बाराका नेता यादव, मोरङका नेता रामकृष्ण भट्टराई, पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, झापाका दिलीप राई, नुवाकोटका राज्यलक्ष्मी श्रेष्ठ, झापाकै चतुरमान विक, सर्लाहीका रामपदारत साह, भोजपुरका डा सुरेश बस्नेत, रुपन्देहीका प्रतिमा राणा क्षत्री, भोजपुरका नारायण राउत र सिन्धुपाल्चोकका इन्द्रबहादुर राउत छन् । थापासँग निकट राप्रपाका जिल्ला नेताहरु भने जिल्लास्तरमै पार्टी प्रवेश कार्यक्रम आयोजना गरी विधिवत् प्रवेश गर्ने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्