नेकपा स्थायी कमिटी बैठक : विवाद समाधानका लागि ओलीसँग संवाद गर्न प्रच्णडलाई जिम्मेवारी



काठमाडौं साउन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटमारमा २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्यसहितको बैठकले आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच संवाद हुनुपर्नेमा जोड दिँदै त्यसको जिम्मेवारीसमेत अध्यक्ष दाहाललाई दिएको हो । अघिल्लो स्थायी कमिटीको बैठकको निरन्तरताअनुसार नै आज बैठक बसेको र त्यसमा नियमित कार्यसूचीभन्दा पनि पार्टीको आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो तर त्यसअघि नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको जानकारी दिए ।

मंगलबारको बैठकले पार्टी एकतालाई रक्षा गर्न, विधि र पद्धति सङ्गत ढङ्गले पार्टीलाई अगाडि बढाउन र वर्तमान सङ्कटलाई सकारात्मक ढङ्गले निकास दिने गरी योगदान पर्‍याउन पार्टीका सबै नेता कार्यकर्ता र सदस्यलाई आफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान गरेको छ ।

प्रवक्ता श्रेष्ठले बैठकमा स्थायी कमिटीका २९ जना र दुई जना आमन्त्रित सदस्य उपस्थित भएको जानकारी दिए । नेकपाको स्थायी कमिटी ४४ सदस्यीय छ ।

प्रतिक्रिया दिनुहोस्