पर्सामा ६ कैदी, ५ बच्चासहित थप ३४ जनामा कोरोना संक्रमण



वीरगन्ज साउन १४ । पर्सामा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ती व्यक्तिहरुमा कोरवना संक्रमण देखिएको हो । नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाल आर्मीका एक जवानमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार ३४ संक्रमितमध्ये एक जनाले मात्र पैसा तिरेर परीक्षण गराएका थिए । अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा भेटिएका र क्वारेन्टाइनमा बसेकाहरू हुन् ।

कैदीहरूलाई अस्पताल र अदालत लैजाने–ल्याउने क्रममा कोरोना फैलिएको हुन सक्ने वीरगन्ज कारागारले जनाएको छ । संक्रमित कैदीहरूलाई राख्न कारागार परिसरको समता स्कुलमा आइसोलेसन वार्ड बनाउन थालिएको छ । कारागारका कर्मचारी र त्यहाँ कार्यरत प्रहरीमा पनि संक्रमण देखिएको छ ।

संक्रमित हुने अन्यमा वीरगन्ज महानगरपालिका–१५ भिस्वाका ८ जना छन् । वीरगन्ज–२५ सिर्सियाका तीन र वडा–१० आदर्शनगरका दुई जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्